काठमाडौँ । पछिल्लो समय यात्रुहरुको सहजताका लागि विभिन्न एपहरु सञ्चालनमा आएका छन् । जसले मानिसको दैनिक यात्रालाई सहज बनाएको छ ।
यस्तै एपहरुको भिडमा बिहीबार एउटा नयाँ एप सार्वजनिक भएको छ, ‘ट्याक्सीमाण्डु’ । ‘फील सेफ राइड अन टाइम’ स्लोगनकासाथ यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्यले सञ्चालनमा आएको हो । यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ । त्यस्तै यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको यसले अन्त्य गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न सक्नेछन् ।यसका लागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टाछुट्टै एप सञ्चालनमा छ । चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नुपर्नेछ ।

त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने सञ्चालक अर्जुन केसीले बताए ।

उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने केसीको भनाइ छ ।

Add Your Comment